Aamsanchar

बजार क्षेत्रमा टिपर चलाउनमा रोक

Author Image
सोमवार, मंसिर ३०, २०७६


मोरङको मिक्लाजुङ गाउँपालिकाको बजार क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाउन स्थनीयबासीले माग गरेका छन् । बजार क्षेत्रको बाटो भएर हिँड्ने टिपर सञ्चालन बन्द गर्नुुपर्ने माग राख्दै आइतबार मध्यान्ह १२ बजेदेखि पाँच बजेसम्म आएका टिपरहरू मधुमल्ला बजारमा रोकी राखिएका थिए । १२ बजेदेखि रोकी राखिएका करिब २० वटा टिपरलाई अब बजार क्षेत्रको बाटो प्रयोग नगर्ने सुझावसहित अपरान्ह पाँच बजेपछि छोडिएका स्थानीय युवा प्रशन राईले बताए ।

यस वर्ष गाउँपालिकाले खोलाजन्य पदार्थको ठेक्का लगाएसँगै मधुमल्ला बजारको मुख्य सडक भएर खोलाजन्य सामग्री लिएर टिपरहरूले मधुमल्ला बजारको मुख्य बाटो प्रयोग गर्र्दै आएका छन् ।

बजार क्षेत्रमा टिपरको गति अत्यधिक हुने र त्यसबाट निस्कने धुलो, धुवाँको र प्रदूषणले बजार क्षेत्रका बासिन्दाको दैनिक जीवनमा नकारात्मक असर परेको स्थानीयको भनाइ छ । मधुमल्ला बजारको मुख्य सडकसमेत साँघुरो भएकाले साइकल यात्री, पैदल यात्रीलगायत बाटो हिँड्ने बटुवाहरूलाई समेत टिपर सञ्चालनले समस्या पारेको स्थानीय युवा गोपाल साहले बताए ।

बिहान–बेलुकाको समयमा अँध्यारो हुने र टिपरहरूले लाइट डिमसमेत नगरिदिँदा मोटरसाइकल र अटोलगायतका साधनमा सवारहरूलाई हिँड्न झनै समस्या भएको स्थानीय व्यापारी लोकबहादुर पौडेलले बताए ।

स्थानीयले बजार क्षेत्रको मुख्य बाटो टिपरले प्रयोग नगरी वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने माग राख्दै आएका छन् । मधुमल्ला बजार क्षेत्रको मुख्य बाटो साँघुरो हुनुका साथै बजार क्षेत्रमा नै ५ वटा सामुदायिक तथा निजी विद्यालयहरू रहेकाले सडक दुर्घटनासमेत हुनसक्ने उच्च जोखिम रहेकाले बजार क्षेत्रबाट टिपर सञ्चालन हुन नहुने स्थानीयको भनाइ छ ।

टिपर सञ्चालन बन्द भएसँगै इप्रका मधुमल्लाले सो समस्या समाधानका लागि प्रयास गरेको थियो । इप्रका मधुमल्लाका इञ्चार्ज खगेश्वर खतिवडाले मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यसँग छलफलका लागि स्थानीयलाई जान आग्रह गरे पनि स्थानीयले अध्यक्ष स्वयम् टिपर रोकिएको ठाउँमा आउनुपर्ने माग राखेपछि छलफल हुन सकेन ।

यस विषयमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यसँग बुझ्दा स्थानीयवासीको मागबारे यथार्थ बुझी गाउँपालिकामा जानकारी गराउन वडाध्यक्षलगायत जनप्रतिनिधिहरूलाई आफूले भनेको आचार्यले बताए । स्थानीय निकाय र स्थानीयबासीबीच छलफल र समन्वय नहुँदा टिपरहरू दिनभर बीच बजारमै रोकिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर