Aamsanchar

बालुवामय जग्गामा खेतीपाती गरी जीवनस्तर उकास्ने तयारी

Author Image
सोमवार, मंसिर ३०, २०७६


कोशी गाउँपालिकामा ११ वर्षअघि आएको बाढीले ३१ सय बिघा क्षेत्रफल बालुवामय भएको क्षेत्रमा हालसम्म उल्लेखनीय सुधार भएको छैन ।

केही किसानले एकल प्रयासमा ६ सय बिघा जग्गा पूर्वअवस्थामा फर्काए पनि २५ सय बिघा जग्गा अझै बालुवामय अवस्थामा छ । जसले गर्दा खेतीपाती गरी जीविकोपार्जन गर्ने यहाँका अधिकांश युवावर्ग वैदेशिक रोजगारमा जाने गरेका छन् । गाउँमा भएका जग्गामा उब्जाउ नहुनु, अशिक्षा, गरिबीजस्ता कारणले कोशी क्षेत्रका प्रायःजसो घरपरिवारबाट दुईदेखि पाँच जनासम्म परिवार पाल्न खाडी जाने बाध्यता छ ।

उताबाट पठाएको पैसाले परिवारको जीविका चलाउनेदेखि छोराछोरी पढाउने गरेका छन् । बाध्यताले कोशी क्षेत्रका युवावर्ग खाडी जाने गरेको जनाउँदै कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले त्यसलाई केही हदसम्म रोक्न कृषि आधुनिकीकरण योजनालाई प्रभावकारी बनाउने बताए ।

२०६५ साल भदौ २ गते आएको बाढीले हजारौं किसान प्रभावित भएकोमा हालसम्म पूर्वअवस्थामा फर्कन सङ्घर्षरत रहेको बताउँदै अध्यक्ष अन्सारीले कोशी गाउँपालिका क्षेत्रका किसानको जीवनस्तर उकास्न एकल प्रयास पूर्ण नहुने भएकोले प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरेका छन् । कोशी गाउँपालिकाले किसानलाई पूर्वअवस्थामा फर्काउन तथा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गर्न लागेकोले सोहीअनुसार योजना बनाएको अन्सारीको भनाइ छ ।

उनले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणसँगै गरिब र निमुखा जनताको जीवनस्तर उकास्ने योजना अघि सारेको छु ।’ आफूलाई जनताले विश्वास गरेर निर्वाचन गराएको हुँदा नेता बन्ने तर जनता नबन्ने परिपाटी अन्त्य गर्न आफूले अध्यक्ष आधुनिकीकरण कार्यक्रम ल्याएको उनले दाबी गरे । ‘जनताको जीवनस्तर उकास्ने अवधारणाअनुसार योजना ल्याइयो’ उनले भने, ‘तर, यसलाई कार्यान्वयन गराउन जनप्रतिनिधिले मात्र लागेर सम्भव छैन, सबै पक्षको साथ र सहकार्यको अपेक्षा छ ।’ विरोधको लागि विरोध गर्नुभन्दा विकासको लागि विरोध गर्न आग्रह गर्दै अध्यक्ष अन्सारीले गरिब जनताको जीवनस्तर उकास्न ल्याइएको योजनामा सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कोशीमा राजस्थान मोडेलले खेती गरिने

११ वर्षअघि आएको बाढीबाट बालुवामय बनेको जग्गा सदुपयोग गर्ने उद्देश्यले गरिएको राजस्थान अवलोकन भ्रमण उपलब्धिमूलक भएको कोशी गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष आधुनिकीकरण कार्यक्रम अन्तर्गत दुईहप्ता अगाडि गरिएको भारत राजस्थान राज्यको कृषि भ्रमणसम्बन्धी जानकारी गराउन कोशी गाउँपालिकाले आइतबार पत्रकार सम्मेलन आयोजना गरी भ्रमण उपलब्धिमूलक भएको बताएको हो । कोशी गाउँपालिकाका अध्यक्ष अन्सारीको नेतृत्वमा प्रत्येक वडाका किसान सम्मिलित १३ सदस्यीय कृषि भ्रमण टोलीले गरेको अवलोकनका बारेमा तयार पारिएको करिब एक घण्टा लामो भिडियोसमेत पत्रकार सम्मेलनमा प्रदर्शन गरिएको थियो । कोशी गाउँपालिका क्षेत्रका २५ सय बिघा जग्गा अझै बालुवामय भएको अवस्थामा राजस्थानका कृषिविज्ञहरूले माटो परीक्षणपश्चात् अनार, लौका, कागती, बदाम, बयर खेती हुनेबारे जानकारी गराएको पत्रकार सम्मेलनमार्फत् जनाइएको छ ।

भारत राजस्थानका कृषिविज्ञहरूले दिएका सुझावअनुसार कम लगानीमा कागती खेती गर्नसके कोशी क्षेत्रका किसानको जीवनस्तर उकास्न सहज हुने गाउँपालिका अध्यक्ष अन्सारीको भनाइ छ । उनले भने, ‘गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा अर्बौं रुपैयाँको कागती भारतबाट आयात भएको छ । त्यसैले कोशी क्षेत्रलाई कागती खेती प्राथमिकतामा राखेका छौं ।’ उत्पादन गर्न सकिए कागतीले नेपालमा बजार पाउन समस्या नहुने अन्सारीको कथन छ । त्यसको लागि किसान जागरुक भई जग्गाको घेराबारा गर्न र जनावर आतङ्क रोक्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘हामी आफ्नोतर्फबाट सहयोग गर्न तयार छौं । राम्रो र सफल किसानलाई सम्मान पनि गर्छौं ।’

कृषिविज्ञ टोली बनाएर कोशी गाउँपालिकामा किसानको आर्थिकस्तर उकास्न थप योजना ल्याउने अन्सारीले बताए । अध्यक्ष अन्सारीको नेतृत्वमा भारत भ्रमणमा गएको टोलीले राजस्थानस्थित जोतपुरमा रहेको शुष्क केन्द्रीय अनुसन्धान केन्द्र, जयपुरमा रहेको केश्वानन्द कृषि युनिभर्सिटी विकानेर, जयस्लोमेर, अजमेरलगायत स्थानमा किसानले बालुवामय जग्गामा लगाएको विभिन्न खेतीको अवलोकन गर्नुका साथै कृषिविज्ञहरूसँग अन्तरक्रियासमेत गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)