Aamsanchar

आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

Author Image
मङ्गलवार, मंसिर १७, २०७६

वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू-भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो ।

अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा राख्नसके सपाङ्ग झै अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनैपनि चुनौतिको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन, समाजमा रहेका कुनै न कुनै किसिमले अपाङ्गतामा रहनुभएका दाजुभाई, दिदीवहिनी, आमाबुवाहरुमा आज हाम्रो पात्रोको हार्दिक नमन र सम्मानका शब्दहरु ।

सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता दिवस मनाईन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्‍यालीहरु आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरु गुञ्जीरहुन् भन्ने कामना पनि छ ।

अपाङ्गता भएका ब्यक्तिहरुले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्नेगर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाकालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरुले अपाङ्गगता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने याद दिलाउने दिन पनि हो ।

अपाङ्गता भएको जनसंख्यालाई साथै लिएर हिंड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन् । समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यक्ता हो ।

नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपाङ्गताकालागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताकालागि विशेष प्रविधी र ब्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरुमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः व्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत(जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरुमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरीक उत्पादन गर्न सके वहाँहरुको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।

नेपालमै प्रथम पटक बाग्लुङ्गको धौलागिरी सुस्त श्रवण विधालयमा कक्षा १२ पश्चात् कम्यूटर ईन्जिनियरिङ्गको सीपउन्मुख कक्षा सञ्चालनमा आएको छ । यस्ता उदाहरणीय अपाङ्गमैत्री तथा समावेशी शिक्षाका अवधारणा र उदाहरणहरू नेपालभरिका सम्पूर्ण विद्यालयहरुमा ल्याउन सकेमा दिगो विकास र समावेशी समाजको अवधारणाले फड्को मार्ने थियो र अपाङ्गता कै कारण शिक्षाको न्यानो प्रकाश सम्मको आधारभूत पहूँचबाट कोही पछि पर्नुपर्ने थिएन । ।

तपाई हामी चाहे सपाङ्ग छौं या अपाङ्ग, हामीले चाहेर या नचाहेर अपाङ्गता हुने या नहुने हैन् । अपाङ्गता भएका साथीहरुलाई माया, सद्भाव, समान हेरार्इ अनि हौसलाको खाँचो छ । वहाँहरुको आत्मविश्वास सदैव कायम रहोस् अनि सृजनात्मक अनि संरचनात्मक कार्यमा वहाँहरुको निरन्तर अर्थपूर्ण सहभागीता होस् ।

आफ्नो जीवनयापनकालागि अर्काको भर पर्न नपरेमा मात्र आत्मस्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तराष्ट्रिय समूदाय र गैरसरकारी संस्थाहरुको पनि अपाङ्गता भएका साथीहरुको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाईन्छ, जुन अत्यन्त राम्रो विषय हो । सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान ब्यवहार पाईयोस् अनि सहज स्वास्थोपचार व्यवस्थित होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर