Aamsanchar

एउटा बावुले बिदेशमा रहेको छोरालाई लेखेको चिठी

Author Image
आइतवार, मंसिर १५, २०७६

प्यारो छोरा,
धेरै धेरै सम्झना
छोरा, तिमी र म भौगोलिक रुपमा धेरै टाढा भएपनि माया ममताको दृष्टिकोण बाट धेरै नजिक पनि छौं । तिमीलाई थाहानै छ अहिलेको युग भनेको बिज्ञान र प्रबिधिको युग हो । अहिलेको बिज्ञान र प्रबिधिको बिकास बारे मलाई भन्दा निश्चयनै तिमीलाई धेरै कुरा थाहा भएको हुनु पर्दछ । सामाजिक संजाल को यति धेरै बिकास भई सकेको छ कि धेरैलाई पत्याउनै गाह्रो भएको छ । अमेरीकामा बिहानको खाना खाएको ब्यक्ति बिभिन्न देश हुंदै पुनःअमेरीकामै सांझपख फर्किन सम्भब भएको छ । त्यस्तै किसिम बाट कुनै पनि ब्यक्तिको हत्केलामा भएको सन्चार साधनको माध्यम बाट संसारलाईनैदेख्न र बुझ्न सम्भब हुन गएको छ । एउटा सानो ल्किक बाट बिश्वमा भएका अनगिन्ति घटना तथा परिघटनाहरु बारे अबगत हुन सक्नु कति सम्म बिज्ञानले हामीलाई मदत पुर्याएको छ भन्ने कुराले निश्चयनै तिमी हामीलाई आश्चर्य चकित बनाएको छ । यो देख्दा र उपयोग गर्न पाउंदा तिमी हामी सबैले आफूलाई भाग्यमानी ठान्नै पर्छ होला । त्यसै कारणले गर्दा तिमी पनि आफ्नो देशमा बिज्ञान र प्रबिधि एबं आधुनिकिकरणको बिकास नभएको कारणले गर्दा उच्च शिक्षा हासिल गरी केही गर्छु भन्ने अठोठका साथ बिदेशीएका हौला भन्ने मैले अनुमान गरेको छु ।

हो, निश्चयनै आफ्नो देशमा सर्बसुलभ र गुणस्तरीय शिक्षा नभएपछि यसको खोजिमा बिदेश जानु कुनै नराम्रो होईन । तिमी पनि लामो अबधि सम्म बिदेशमा बसेर राम्रो संग अध्ययन गरी रहेका छौ । यो एक किसिको राम्रो पक्ष हो भने आफ्नो देशमा बसेर केही गरेर देशको सेवा गर्नु अझ राम्रो पक्ष हो जस्तो मलाई लागेको छ । हुनत चाहंदैमा सबै कुरा हुन्छ भन्न पनि सकिदैन । चाहेर पनि मौका पाईएन भने त्यसको पनि के उपादेयता भयो र ?
मैले माथि केही भूमिका बांधेको बिषय बारे निश्चयनै तिमीले अड्कल लगाई सक्यौ होला । मैले तिमीलाई भन्न चाहेको कुरा जुन देशमा तिमी जन्मियौ हुर्कियौ त्यो देश अहिले पनि जस्ताको तस्तै छ । तिमी गएको देशमा बिकासको गति कति तिब्र भई सक्यो होला तर हाम्रो देशमा भने जस्ताको तस्तै छ । यस्तै प्रकारले जाने हो भने हामी संधैनै पछि पर्दै जाने छौं । त्यसैले अरुको देशमा बसेर कति सेबा गर्ने , अब आफ्नै देशमा बसेर केही गर्न उपयुक्त होला जस्तो लागेर यो पत्र तिमीलाई लेखि रहेको छु । अबश्यनै बाबुको यो सानो चिठीलाई तिमीले मनन गर्नेछौ भनी आशा पनि लिएको छु ।

हुनत तिमीले आफ्नो देशको बिषयमा राम्रै संग बुझेका हौला । यद्यपी नजिक बाट आफ्नै आंखाले देख्नु र बिभिन्न सन्चार माध्यम बाट जानकारी लिनु निश्चयनै फरक पर्ने कुरा हुन् । त्यसैले तिमी जन्मिएको, पढेको र हुर्किएको देशको बारेमा केही प्रतिनिधिमूलक बिषय बस्तु बारे मात्र तिमीलाई पत्र लेखेको हुं । अन्य कतिपय बिषय बारे यो सानो पत्रमा लेख्न त्यति उपयुक्त पनि नहोला र सायद तिमीलाई पढ्न पनि समय अभाव होला । मलाई थाहा छ तिमी बसेको देशमा समयको कति महत्व छ भन्ने कुरा । त्यहांका मानिसले समयको महत्वलाई बुझेको हुनालेनै देश बिकासको चरम बिन्दुमा पुगेको छ । त्यसै गरी हाम्रो देशमा पनि समयको महत्व र देशको लागि सबैले माया गरी दिएको भए सायद देशको अनुहार अर्कै भई सक्थ्यो पनि होला ।

हो, हाम्रो देशमा पनि पहिलेको तुलनामा केही बिकास भएको छ, नभएको भने होईन । तर, यो बिकास भनेको गर्नु पर्छ भनेर गरेको होईन । पिंधमा रहेका हामी जस्ता जनताले बाटो खनेका छन्, कुलो बनाएका छन्, बिद्यालय बनाएका छन्, खानेपानी निर्माण गरेका छन्, स्वास्थ्य चौकी निर्माण गरेका छन्, श्रमदान गरेका छन् । यसता असंख्य बिकास एबं निर्माणका कार्यहरु भई आएका हुनालेनै केही मात्रामा बिकास भएको जस्तो देखिएको हो । यसरी बिकास हुनु भनेको हाम्रो दाह्री जुंगा पलाएको जस्तो हो । केही नगरे पनि आफै पलाई हाल्ने हो । योजनाबद्ध रुपमा जसरी बिकास प्रकृया शुरु गर्नु पर्ने हो, त्यो हुन नसकेको कारण बाट साधन, श्रोत, श्रम र समय त्यसै खेर गएको छ ।

योजनाबद्ध किसिम बाट बिकास प्रकृयाको्र थालनी नभएको कारण बाट हिउंदमा बाटो बनायो बर्षाको समयमा माटो बगाएर लग्ने हुंदा पछिल्लो बर्षमा बाटोको नाम निशानानै रहेको हुंदैन । त्यस्तै गरी खानेपानी निर्माण गरेको देखिन्छ, पानी चालु भएको हुंदैन । सिंचाईको कार्य पुरा भयो, बिना संभाब्यता अध्ययन गरीएको हुंदा नहरमा पानी बगेको हुंदैन ।सडक,बिद्युत,खानेपानी जस्ता बिकासका पूर्बाधारहरु निर्माण गर्दा एक आपसमा समन्वय नहुंदा एउटा आयोजनाले निर्माण गर्दै जान्छ अर्कोले भत्काउंदै गएको हुन्छ । यस प्रकारले राज्यले धेरै क्षति बेहोर्नु परेको छ । अहिले झन स्थानीय तह स्वायत्त भएका र उनीहरुलाई बिकास निर्माणको कार्य संचालन गर्ने र जनतालाई सुशासन दिने बिषयमा अल्प ज्ञान भएको हुंदा स्थानीय तहहरुले संचालन गरेका बिकास एबं निर्माण कार्यहरुले राम्रो नतिजा दिन सकेका छैनन् ।

उनीहरुले गरेको कामको परिक्षणको सम्बन्धमा महालेखाले प्रकाशित गरेको प्रतिबेदन तिमीले अध्ययन गर्यौ भने थाहा पाउनेछौकी, हाम्रो देशका जनप्रतिनिधिहरुले कति सम्मको नीच कार्य गरेका रहेछन् भन्ने कुरा ।सुशासन र सेबाको बागडोर समालेका जनप्रतिनिधिहरुलेनै अनाबश्यक रुपमा बिभिन्न बैठक बसाल्ने, प्रत्येक बैठक बापत दैनिक पन्ध्र हजार सम्म भत्ता लिने, आफ्ना नाता गोतालाई सल्लाहकारमा नियुक्ति गर्ने, स्वकीय सचिब, कार्यालय सहयोगी, भान्छे भनी आफ्नै छोरा छोरी, साला सालीलाई नियुक्ति गरेर सरकारी ढुकुटीको दोहन गर्ने जस्ता काम सामान्य भई सकेका छन् । यति सम्म गरेका छन्की आफ्नो निजी घर मर्मत गर्न पनि सरकारी बजेट बाट खर्च गरेका कुरा पनि पत्रपत्रिकामा आइनै रहेकै छन् । भ्रष्टाचार बढ्दै गएको छ । भ्रष्टाचार निबारण गर्न बसेका उच्च पदाधिकारीहरु नै भ्रष्टाचारमा संलग्न भएको खबर तिमीले पढेका पनि हौला । उच्च पदाधिकारी नै भ्रष्टाचारमा लागे पछि तलका नीकायमा भ्रष्टाचार मौलाउंदै जानु कुनै ठूलो कुरो भएन पनि ।

अहिले हाम्रो शासकीय ब्यबस्था एक किसिमले संक्रमणीय अबस्थामा रहेको छ । स्थानीय तहहरु गठन भई सके पनि तिनीहरुलाई आबश्यक हुने श्रोत,साधन, कानून तथा कर्मचारीको ब्यबस्था नभैसकेको हुदां जनतालाई घरदैलोमा सेबा पुर्यायने यी तहहरु निकम्पा भए जस्ता पनि देखिएका छन् । तर यिनीहरुमा ईच्छा शक्ति भएको भए केहीन केही बिकासको प्रतिफल देखिन्थ्यो होला । ईच्छा शक्ति नभएकै कारणले गर्दा होला बिकास भन्दा पनि बिनासको बाटो तिर कतै हाम्रा यी शासकीय तहहरु गएकात छैनन्, प्रश्न उब्जन गएको छ ।

जुन देशमा तिमी हुर्कियौ बढ्यौ , त्यो देशमा अहिले पनि शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आबश्यकताको न्यूनतम परिपूर्ति हुन सकेको छैन । जती पनि लगानी गरीएको छ, त्यो पनि नतिजामुखि हुन सकेको छैन । बिकास निर्माणमा गरीएको लागानी पनि एक प्रकारको उपभोगमुखी हुन गएको देखिन्छ । कुनै योजनामा गरेको लगानीले कुनै प्रतिफल दिन सकेको छैन भने त्यसलाई अनुत्पादक लगानी भन्नमा कुनै संकोच नहोला जस्तो मलाई लागेको छ ।
देश बिकासको लागि आबश्यक पर्ने साधन श्रोत भनेको मानब शक्ति, आर्थिक साधन र अन्य साधनहरु हुन । यी साधन हुंदा हुंदै पनि हामी किन बिकासमा पछि परेका छौं ?यो मुख्य यक्ष प्रश्न हो । यसलाई सम्बन्धित पक्षहरुले बिभिन्न बहाना देखाए पनि सहि जबाफ प्राप्त हुंदैन । कसैले पनि जबाफदेही र दायित्व निर्बाह नगर्ने नै मुख्य कारण हुन सक्दछ ।

देशमा जनशक्ति नभएको पनि होईन, साधन श्रोत पनि नभएको पनि होईन र यिनीहरुलाई ब्यबस्थापन गर्ने दक्षता नभएको पनि होईन । मुख्य कुरो भनेको देश बिकास गर्ने दृढ बिश्वासको अभाब नै हो जस्तो लाग्दछ । प्रत्येक दिन दैनिक १५०० भन्दा बढि जनशक्ति जीवन नीर्बाहको लागि खाडी मुलुक गएका हुन्छन् । त्यसरीनै प्रमाण पत्र तह उत्तिर्ण गरेका र उच्च शिक्षा हासील गरेकाहरु युरोप, अमेरीका, जापान आदि मुलुकहरुमा शिक्षा एबं रोजगारीका लागि गईनै रहेका हुन्छन् । त्यसरीनै भारत तर्फ जानेहरुको संख्या झन् कहाली लाग्दो छदैछ । देश बिकासको लागि अबश्यक हुने बिभिन्न किसिमको जनशक्ति यसरी बिभिन्न देशमा भौतारिंदै हिड्नु र आफ्नै देशमा दक्ष जनशक्तिको अभाव हुनु निश्चयनै दुःख लाग्नु स्वभाबिकै हो र यो बिरोधाभास पनि हो ।

देश बिकासको लागि आबश्यक हुने भनेको अर्को साधन हो बित्तीय । देशको कर प्रशासन चुस्त र दुरुस्त हुन सकेको छैन । कर प्रशासन जनमुखी नभएको कारणले गर्दा एकातिर असुली राम्रो संग हुन सकेको छैन भने अर्कोतिर यसमा ठूलो धनराशीको चुहावट पनि भएको पाईन्छ । अहिलेको शासकीय ब्यबस्थामा कर सम्बन्धि कानून बनाउने, कर लगाउने र कर असुल गर्ने अधिकार स्थानीय तहलाई दिईएको हुंदा स्वेच्छाचारीता र एकाधिकार मा बढोत्तरी हुन गएको देखिन्छ । करको दरमा ठूलो मात्रामा बृध्दि हुनु र जनताले तिरेको कर पनि जनताको आबश्यकता अनुरुप खर्च नगरी आफ्नो निजी स्वार्थमा जनप्रतिनिधि बाट खर्च गरीएको कार्यलाई कुनै पनि किसिमले उपयुक्त भन्न सकिदैन । हाल एनसेल प्रकरणले उब्जाएको बिषय बारे कुरा गर्ने हो भने हाम्रो प्रशासन कतिसम्म गएगुज्रेको रहेछ भन्ने प्रष्ट हुन आउंछ । अरबौं अरब रकम असुल उपर गर्नु पर्नेमा सो नगरी सम्बन्धित पक्ष बाहिरीनु र पत्रपत्रिकाहरुले कर छलीको बिषय उठाएपछि मात्र केही गरे जस्तो गर्नु निश्चयनै केही गडबडी भएको कुरा अनुमान गर्न सकिनेनै भयो । यस किसिको प्रबृत्ति बाट जनतामा सरकार प्रति बितृष्णा आउनु कुनै नौलो कुरो होईन ।

छोरा,
हाम्रो देशमा असंख्य बेथितिका चाङ्का चाङ् देखिन्छन् । शिक्षा, स्वास्थ्य, यातायात जस्ता क्षेत्रमा समेत जनताको ढाड्सेक्ने काम भएको छ र सेबा भन्दा पनि एक प्रकारको ब्यापारनै हुन गएको छ । सरकारले नारामा शिक्षालाई सर्बसुलभ र निशुल्क भने पनि त्यो हुन सकेको छैन । शिक्षा कमाउने धन्दा भएको हुंदा बिभिन्न किसिमका शीर्षक राखी असुली गर्ने काम भई आएको छ । बिद्यार्थि भर्ना गर्दा थोरै रकम लाग्ने देखाउने, भर्ना भई सकेपछि बिभिन्न शीर्षकमा रकम असुल्ने परिपाटीको नत सरकारले अनुगमन गरेको पाईन्छ नत सम्बन्धित निकाय बाटै । शिक्षा मन्त्रालय बाट निशुल्क कोटा बाट अध्ययन गर्न गएका चिकित्सा शास्त्रका बिद्यार्र्थिहरुलाई बिभिन्न बहानामा ठूलो मात्रामा अतिरिक्त शुल्क लगाएको बिषयलाई बिद्यार्थिहरुले बिरोध गरे पनि कलेजहरुले रकम असुल गर्दै आएकै छन् । स्वास्थ्य क्षेत्रको त कुरै नगरौं । जहां जनसंख्याको घनत्व बढि छ, त्यहां असारमा च्याउ उम्रिए जस्तै गरी निजी अस्पताल स्थापना भएका छन् । यिनीहरुको मुख्य उद्देश्य जनताको ढाड् सेकी जति सक्दो आफूले नाफा गर्नुनै रहेको छ । मंहगो स्वास्थ्य उपचारले गर्दा कतिपय मानिसले आत्महत्या गरेका र अस्पतालको रकम तिर्दा तिर्दै कतिपयलेत आफ्नो सबै सम्पत्ति समेत सकेका पनि प्रशस्तै उदाहरण देखिएका छन् ।

यातायात क्षेत्रमात यति ब्रम्हलुट छकि त्यस्को कुरै गर्दा पनि आङ्सिरिङ्ग भएर आउंछ । बस, माईक्रोबस जस्ता यातायातका साधनमा यात्रुहरुले चरम सास्ती पाई आएका छन् । क्षमता भन्दा बढि यात्रु राखेर गुन्द्रुक कोचेको भन्दा पनि बढि हुने गरी यात्रु कोच्ने र यात्रुहरुलाई अशीष्ट शब्द प्रयोग गरी गाली गलौच गर्नु त सामान्यनै भैसकेको छ । त्यसैगरी निर्धारित भन्दा बढि भाडा लिने र फिर्ता गर्नु पर्ने पैसा पनि फिर्ता नगरी उल्टै खुद्रा पेैसा छैन भनी पन्छिने कार्य पनि भईनै रहेका छन् । ट्याक्सीको बिषयमा त कुरो गर्नै पर्दैन । सरकारले अनिबार्य रुपमा मिटर जडान गर्नु पर्ने ब्यबस्था गरे पनि कतिपय ट्याक्सी चालकहरुले मिटर राखेका हुंदैनन् । मिटर भएकाहरुले पनि मिटरमा चलाउन मान्दैनन् र उनीहरुले भनेको भाडा तिर्न ग्राहक बाध्य भएका छन् । यस्तो बेथिति छर्लङ्ग हुंदा हुंदै पनि सरकार कानमा तेल हालेर सुति रहेको आभास भई रहेको छ । यस प्रकारका अबान्छित गतिबिधिहरुलाई सरकारले अनुगमन गरी कार्यबाही गर्नु पर्ने हो । तर, सरकार मौन भई टुलु टुलु हेरी रहेको छ । यस किसिमको बेथिति नहटाए सम्म जनताले सुख पाउने कुरै भएन ।
अझ, यी माथि लेखिएका कुरा भन्दा पनि डरलाग्दा कुराहरु धेरै छन् । जनताले सधैनै खेपी रहनु पर्ने कुरा भनेको दिन प्रति दिन बढ्दै गएको महंगी हो । जनतालाई बाच्नको लागि नभै नहुने खाद्यान्न , लत्ता कपडा लगायत अन्य आधारभूत बस्तुहरुको अनियन्त्रित रुपमा बढेको मूल्यकोत कुरा गरी सक्नुनै छैन । जनता भनेको यस्तो सहनशील प्राणी रहेछ, जसले पनि निमोठ्न सक्ने प्राणीको रुपमा परिचित हुंदै गएको अनुभव हुन गएको छ ।

छोरा, तिमीलाई पनि हाम्रो देशमा भ्रष्टाचार मौलाउंदै गएको बारे पत्रपत्रिकामा पढेर पनि केही थाहा पाएकै हौला । जुन ब्यक्ति भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा रहेका छन्, उनै बाट लाखौ करोडौंको भ्रष्टाचार भएको छताछुल्ल भएको छ । शान्ती सुरक्षा कायम गर्ने संगठनमा बस्नेहरुले पनि भ्रष्टाचार गरेर अदालत बाट दोशी ठहर भई कारागारको सजाय बिताई सकेको अबस्थाले पनि भ्रष्टाचार बाट नडराई झन् भ्रष्टाचार बढ्दै गएको कुरा पनि सर्बबिदितै छ ।
भनीन्छ, हाम्रो देशमा नत कर्मचारी तन्त्र राम्रो छ, नत राजनीतिनै । देशको दिशा निर्देशित गर्ने यिनै दुई निकाय हुन् । यिनै बेकम्मा भई दिएपछि देशले कसरी बिकासको कांचुली फेर्ने ? राजनीतिले उपयुक्त किसिमको नीति तयार गर्ने र कर्मचारी तन्त्रले उक्त नीतिलाई कार्यान्वयन गर्नु पर्ने हो । तर हाम्रो देशमा नत राम्रो नीति बन्न सक्दछ, नत बनेका नीतिहरुनै कार्यान्वयन हुन सकेका छन् । त्यसकारणले गर्दा पनि हामी ले बिकास गर्न नसकि पछि परेका हौं ।
अर्को नीतिको साथसाथै ऐन कानूको भूमिका पनि त्यतिकै महत्वपूर्ण रहेको हुन्छ । प्रशासनिक कामकुरालाई मूर्तरुप दिने भनेको नै ऐन कानून हुन् । हाल देशमा २÷३ को सरकार भएको अबस्थामा समेत कुनै पनि क्षेत्रले स्थायीत्व प्राप्त गर्न सकेको छैन । देश बिकासको लागि आबश्यक हुने अर्को पाटो भनेको बैदेशिक सहायता, ऋण, अनुदान आदि हुन् । स्थीर सरकार रहने कुरामा बिदेशीहरु अझ सम्म पनि बिश्वस्त हुन नसकेको कारण बाट देश भित्र बिदेशी लगानी भित्रिन नसकेको यथार्थता एकातिर छ भने दातृ निकायहरु पनि पर्ख र हेरमा रहेका देखिन्छन् । यसरी हाम्रो देश बिकासमा पछि पर्दै गएको कुरा कसैले पनि नकार्न सक्दैन ।

हाम्रो देशमा आएको भूकम्पले पुर्याएको क्षति बारे तिमीलाई थाहानै भएको कुरा हो । भूकम्प पीडितहरुको लागि देश बिदेश बाट सहयोग पुर्याउन रकम उल्लेख गरी प्रतिबध्दता प्राप्त भएपनि प्रशासनिक क्षमता लगायत बिभिन्न कारणहरुले गर्दा ती बाचा गरेका रकमहरु उपलब्ध हुन सकेनन् र अहिले सम्म पनि भूकम्प पीडितहरु त्रिपाल भित्र बसी जीवन निर्बाह गर्नु परी रहेको छ । यस अबस्थामा कसरी जनताको जीवनस्तरमा सुधार हुन सक्छ र ? यसको अतिरिक्त जतिपनि बैदेशिक श्रोत प्राप्त भएको छ , त्यो रकम पनि खर्च हुन सकेको छैन । खर्च गर्न सक्ने क्षमता नभए पछि त्यस बाट प्राप्त हुने प्रतिफलको आशा गर्नु भनेको मूर्खतानै हुनेछ ।

सिंहदरवारको अधिकार गाउंघरमा पुर्याउने सरकारको नीति भएपनि त्यो हुन सकेको छैन । जनताले तिरेको रकम सहि काममा खर्च हुन सकेको छैन । कतै जथाभावी रुपमा खर्च भएको छ भने कतै रकम खर्च हुन नसकि प्राप्त बजेट पनि निष्कृय भई रहेको देखिन्छ । आ.ब. ०७५।०७६ को ८ मैन्हा ब्यतित भै सक्दा पनि पूंजिगत बजेट खर्र्चै हुन नसकेको भने पनि हुन्छ । चालु बजेट खर्च गर्नको लागि कुनै कार्यक्रम नचाहिने भएकोले बैठक भत्ता, कार्यलय संचालन खर्च, गाडी भाडाको खर्च, अनुगमन खर्च, कर्मचारीको लागि दैनिक भ्रमण खर्च आदि अनुत्पादक काममा जनता बाट उठाएको करको रकम खर्च गरेका प्रशस्त उदाहरण भेटिन्छन् ।
तीन तहको शासन ब्यबस्था बाट जनताको घर दैलोमै सेवा पुर्याउने र बिकासको गतिलाई तिब्र गति दिने भनीए पनि जनता अझै सम्म पनि यी कार्य बाट जे जति रुपमा लाभान्वित हुनु पर्ने हो त्यति मात्रामा हुन सकिरहेका छैनन् । आधारभूत आबश्यकता एबं न्यूनतम बिकासको फल पाउन नसकेको अबस्थामा जनतामा निराशा आउनु पनि एक प्रकारले हेर्दा स्वभाबिकै होला ।

हामी किन गरीब भएका छौं भन्ने कारण बारे सायद तिमीलाई थाहा भएकै हुनु पर्दछ । हामी संग लगानी गर्नको लागि पूंजिको आबश्यकता पर्दछ । पूंजि नभएपछि लगानी गर्ने कुरा सम्भब नै भएन । लगानी नभए पछि रोजगारी नहुनेनै भयो । बिना रोजगारी आय आर्जन नहुनेनै भयो । आय वा बचत नभए पछि हामीले लगानी गर्न नसक्नेनै भयौं । यस प्रकारले हामी गरीबीको दुष्चक्रमा९खष्अष्यगक अष्चअभि या उयखभचतथ० फसेका छौं । यो दुष्चक्रलाई तोड्नको लागि हामीले ठूलो परिश्रम गर्नु पर्ने हुन आउंछ । हामी सबै मिलेर देश बिकासमा प्रतिबध्द भयौं भने असम्भब भन्ने कुरा पनि केही छैन ।

छोरा, तिमीलाई बिश्वको अर्थ ब्यबस्था बारे पनि थाहा भएकै हुनु पर्दछ । गरे के हुंदैन र ? लि क्वान् यु, महाथिर महमुद, सि जिङ् पिङ् जस्ता का एकल प्रयासले पनि कसरी आ आफ्नो देशको बिकास गरेर बिश्व सामु उदाहरण बनेका कुराले निश्चयनै हाम्रा देशका नेताहरुले पाठ सिक्नु पर्ने हो । तर नेताहरुले देशको बिकास गर्ने कार्य नगरी आफ्नै बिकास गर्ने गतिबिधिले गर्दा हामी जनता दिन प्रति दिन गरीब हुंदै गएका छौं । दशौ बर्षको जनयुध्दले हामीले निर्माण गरेका पूर्बाधार एबं संरचना ध्वस्त भए । १७ औं हजार जनताको बलिदानी भयो । शान्ती सुरक्षा खलबलिएको कारणले गर्दा उद्योग धन्दा, कलकारखाना, बन्द ब्यापारहरु सन्चालन हुन सकेनन् । स्वदेशमा कुनै गुन्जायस नभएको हुंदा लाखौं युबाहरु बिदेशीनु परेको यथार्थतालाई तिमीले बुझेकै हौला । पहिले भएका बिकास निर्माणका कामहरु जनयुध्दका समयमा ध्वस्त पारिएका र पछि शान्ति स्थापना भएपछि तिनीहरुलाईनै पूर्ब अबस्थामा ल्याउन राज्यको सीमित साधन खर्चिनु परीरहेको यथार्थता सर्ब बिदितै छ ।

समग्रमा भन्ने हो भने हाम्रो राष्ट्रिय अर्थ ब्यबस्थाले पनि नीर्दिष्ट दिशा लिन सकेको देखिदैन । हामी उत्पादन मुखी हुन सकेका छैनौं । ६ रुपियांको सामान उत्पादन गरी निर्यात् गर्यौं भने ९४ रुपियांको सामान आयात गरेका हुन्छौं । यसरी आयात र निर्यातमा सन्तुलन कायम हुन नसकि सोधनान्तर स्थिति राष्ट्रिय हीत प्रतिकुल हुन पुगेको छ । बिदेशी मुद्राको संचितिलाई बलियो बनाउन सरकारले बिदेश जाने नेपाली नागरिकले पहिले २५००। डलरको सटही सुबिधा पाउंथे भने अहिले त्यसलाई खुम्च्याएर .१५०० डलरमा संकुचन गरीएको छ । सायद यो ब्यबस्थाले ब्यक्ति बिशेषमा केही असर पारेको भए पनि राष्ट्रिय दृष्टिकोणले यसलाई राम्रै मान्नु पर्दछ । लाखौं युबा शक्तिले खाडी मुलुक बाट कमाएर ल्याएको बैदेशिक मुद्राले ठूलो मात्रामा बैदेशिक मुद्राको संचितिमा सघाउ पुर्याएको छ । यसरी बिदेश बाट कमाएर ल्याएको रकम पनि उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकी घर जग्गा , फजुल खर्च, भोज भतेर , चाड पर्बमा खर्च हुने परिपाटीले सीमित श्रोत र साधनको बुध्दिमत्ता पूर्बक खर्च भएको देखिदैन । यस्ता उपभोग्य बस्तुमा खर्च भएको रकमले देशको बिकास प्रकृयामा सघाउ नगर्ने कुरा मैले तिमीलाई भनी रहनु पर्ने पनि होईन ।

सायद तिमीलाई यी कुराहरुले निकैनै नराम्रो पारेको पनि होला । तर राम्रा पक्ष पनि त्यतिकै रहेका छन् । हाम्रो देशमा के कुराको अभाब छ भने जांगर र प्रतिबध्दताको अभाब छ । हाम्रो देशको भौगोलिक बनावट यस्तो अनौठो छकि तराई देखि हिमाल सम्म जमिनको उचाई बढ्दै गएको हुंदा बिभिन्न किसिमको हावापानी, भिन्न भिन्न संस्कृति, भिन्न भिन्न जात जाती, धर्म संस्कृति, बिभिन्न प्रकारका पशुपंक्षिहरुले निश्चयनै पर्यटकलाई आकर्षण गर्न सक्दछन् । त्यस्तै गरेर जल बिद्युत बिकासको प्रचुर संभावना पनि रहेको छ । प्राकृतिक सम्पदामा पनि हामी निकै नै धनी छौ । मुख्य कुरो भनेको हामीमा शीप ,ज्ञान, साधन श्रोत र प्रतिबध्दताकोअभावको कारणले गर्दा हामीहरुले तिनीहरुलाई प्रयोगमा ल्याउन सकेका छैनौ ।

अहिले आएर २÷३ को स्थीर सरकार भएको हुंदा राजनीतिले एक निर्दिष्ट दिशा लिनेछ भन्ने आशा गर्न सकिन्छ । हुनत यसमा पनि बिभिन्न किसिमका अप्ठ्याराहरु त छंदै छन् । राजनीतिमा लाग्ने सबै नेता एबं कार्यकर्ताहरुलाई कुनैन कुनै पद चाहिने र शत्तामा पुग्नै पर्ने रोग पनि त्यत्तिकै देखिन्छ । यदि सत्तामा पुग्न नपाईने भए पार्टीनै फुटाई शत्तामा पुग्ने कार्यले देश बिकासमा प्रतिकूलतात ल्याएकै हुन्छ । जे भए पनि निराशनै हुनु पर्ने अबस्था नरहे पनि देश बिकासको लागि हामी सबैले आ आफ्नो क्षेत्र बाट सक्दो प्रयास गर्नु पर्ने आबश्यकता हाम्रो आफनै देशको परिस्थितिले देखाएकोछ ।
आशाछ , यो चिठी तिमीले पढेपछि निश्चयनै तिम्रो मनमा पनि आफू जन्मिएको हुर्किएको देशको बारेमा एकै छिन भए पनि घोत्लिने नै छौ र आफ्नै देश फर्किएर देशको लागि केही गर्नेनै छौं । धन्यबाद ।
तिम्रो
उही माया गर्ने बाबु,
नेपाल बाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)