Aamsanchar

प्रधानमन्त्री ओली आज फलोअप का लागि अस्पताल जाँदै

Author Image
शनिवार, कार्तिक ३०, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि शनिबार पुन: ग्रान्डी  अस्पताल जाने भएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका छन् ।  : ‘शनिबार फलोअपका लागि अस्पताल जाँदै छु, मिर्गौलामा राखिएको स्टेन्ट निकाल्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘डाक्टरहरूले बोलाएका छन्, अरू जाँच पनि हुन्छ होला ।’

बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली । 

सामान्यतया मिर्गौलाबाट पिसाब बाहिर निस्किने बाटो साँघुरो हुँदा स्टेन्ट हाल्ने गरिन्छ । यसले पिसाब नलीलाई खुला राख्न मद्दत गर्छ । गत कात्तिक १२ र १३ गते डायलसिस गर्दा ओलीको मिर्गौलामा उक्त स्टेन्ट हालिएको थियो । त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहे पनि अस्पताल गएका थिएनन् । शनिबार मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने ओलीले मन्त्रिपरिषद् बैठकलाई जानकारी दिएका छन् ।

ग्रान्डी अस्पतालमा उपचार गरेर फर्किएपछि उनको फेरि डायलसिस गर्नुपरेको छैन । सुरुमा नियमित डायलसिस गर्नुपर्ने बताइए पनि पछि उनको स्वास्थ्यमा सुधार आएको भन्दै आवश्यक परेका बेला मात्रै डायलसिस गरे हुने राय चिकित्सकहरूले दिएका थिए ।

प्रधानमन्त्री ओली स्वयं भने लगातार डायलसिस गरिरहनुभन्दा फेरि मिर्गौला प्रत्यारोपण गर्ने पक्षमा भएकाले उनका निकटस्थ र चिकित्सिकहरूले त्यही विषयमा परामर्श गरिरहेका छन् । ‘तत्कालका लागि स्वदेशमै उपचार गर्ने र मंसिर १४ को उपचुनाव सकिएलगत्तै थप उपचारका लागि विदेश जाने मनस्थितिमा प्रधानमन्त्रीज्यू हुनुहुँदो रहेछ,’ शुक्रबारको मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले भने ।

प्रधानमन्त्री ओलीको अबको उपचार पद्धतिबारे निजी चिकित्सक दिव्यासिंह शाहले विभिन्न मुलुकका मिर्गौला रोग विशेषज्ञहरूसँग परामर्श गरिरहेकी छन् । डा. शाह हालै मिर्गौला रोग विशेषज्ञहरूको सम्मेलनमा भाग लिएर अमेरिकाबाट फर्केकी छन् ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि पनि बेलाबेला बिरामी हुँदै, निको हुँदै गरेका उनले गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । त्यहाँ प्लाज्माफेरेसिस पद्धतिबाट उनको शरीरमा रहेको एन्टिबडी नष्ट गरिएको थियो ।

सिंगापुरबाट फर्किएपछि नै सार्वजनिक कार्यक्रममा निकै कम जान थालेका प्रधानमन्त्री ओलीले बालुवाटारमै बसेर सक्रियता बढाएका छन् । उनलाई चिकित्सिकहरूले नै धपेडी हुने काम नगर्न सुझाव दिएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर