Aamsanchar

पूर्वमन्त्री र छोरी सूरुचीविरुद्ध ठगी मुद्दामा अदालतबाट म्याद थप

Author Image
शुक्रवार, कार्तिक २२, २०७६


प्रहरीले हाउजिङको नाममा ठगी गरेको आरोपमा पूर्व सहायक अर्थमन्त्री रुप ज्योति र उनकी छोरी सुरुचीविरुद्ध ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थपको प्रक्रिया थालेको छ।

सिल्क एयरमा सिंगापुरबाट काठमाडौं ओर्लिएका रुप ज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले शुक्रबार सोही मुद्दामा छोरी सूरुचीलाई पनि पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार रुप ज्योति अध्यक्ष रहेको ल्यान्डमार्क हाउजिङ कम्पनीले बिकेन्द्रकृष्ण मल्ललाई २ करोड १४ लाख ७५० रुपैयाँमा महाराजगञ्ज क्षेत्रमा तयारी घरदिने भनेर सम्झौता गरेका थिए। यसबापत कम्पनीले मल्लसँग १ करोड ३६ लाख रुपैयाँ बुझेको थियो। तर, मल्ललाई घर पनि नदिने र लिएको रकम पनि फिर्ता नगरेपछि उनी ठगी मुद्दाको जाहेरी लिएर गत वर्ष मंसिरमा परिसर पुगेका थिए।

परिसरले ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट रुप ज्योतिलाई पक्राउ गर्न २०७५ मंसिर २० मा अनुमति लिएको थियो। रुप ज्योति त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चबाट निषेधाज्ञा लिएका रुप ज्योतिको आदेश मंगलबार उल्टिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट मंगलबार खारेज गरेपछि मल्ल पूरक जाहेरी लिएर परिसर पुगेका थिए। प्रहरीले मल्लको पूरक जाहेरीपछि अदालतबाट अनुमति लिएर रुप ज्योति र सुरुची ज्योतिविरुद्ध कारबाही थालेको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर