Aamsanchar

पत्रकार अर्जुनलाई उपचार खर्चको अभाव

Author Image
शुक्रवार, कार्तिक १, २०७६


आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ। मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनलाई खर्चको अभाव भएको हो। उनी यही असोज ११ गतेदेखि बिरामी भएका थिए। बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो। सिमकोट गाउँपालिका–२ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ। उनको परिवार र जिल्लाका पत्रकारले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन्। सदरमुकाम सिमकोटस्थित सामुदायिक रेडियो कर्णाली आवाजमा कार्यरत उनी नेपाल पत्रकार महासंघ शाखा अध्यक्षसमेत हुन्।

कमजोर आर्थिक अवस्थाका कारण सहयोगको खाँचो परेको अर्जुनका दाजु विष्णु बोहराले बताए। उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधार भइरहे पनि अझै केही समय अस्पताल बस्नुपर्ने बताएको विष्णुले बताए। सघन उपचार कक्षमा उपचार भइरहेको उनको रगत परीक्षणका लागि भारत पठाइएको छ।

विष्णुले कम्तीमा रु १५ लाख आवश्यक पर्ने बताए। ‘घरबाट ल्याएको पैसा सकियो, दैनिक रु २० देखि ४० हजारसम्म अस्पतालमा बुझाउनुपर्छ’, उनले भने, ‘सहयोग जुटेको पैसा पनि सकिँदैछ, लामो समय सघन उपचार कक्षममै राख्नुपर्ने अवस्थाका कारण खर्च धेरै लाग्ने देखिएको छ।’ उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुकलाई अर्जुनका दाजु विष्णुको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको खाता नं ४१९०००४९२७१० मा बचत गर्न अपिल गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)