Aamsanchar

प्लास्टिकको चामल भेटिएको भन्दै प्रहरीमा उजुरी

Author Image
बुधवार, असोज ८, २०७६


सोमबार बिहान नेपाल प्रहरीको आपत्कालीन हेल्पलाइन १०० मा फोन गरेर एक व्यक्तिले रेष्टुरेन्टमा खाएको खानामा ‘प्लास्टिकको चामल भेटिएको’ दावी गरे । काठमाडौं पेप्सीकोलाबाट आएको फोनपछि प्रहरीले घटनास्थल नजिकको आफ्नो प्रभाग काँडाघारीलाई गुनासोबारे जानकारी गरायो । सूचना लगत्तै प्रभागका इन्सपेक्टर सुधीर राईको टोली प्रहरीलाई खबर गर्ने युवक भएको ठाउँ काठमाडौं महानगरपालिका(३२ स्थित टाउन प्लानङमिा रहेको क्वालीटी फूड क्याफे रेष्टुरेण्टमा पुग्यो । प्रहरी निरीक्षक राईका अनुसार प्रहरीलाई खबर गर्ने व्यक्ति भक्तपुरको एक नगरपालिकाका मगर थरका वडाअध्यक्ष थिए । वडाअध्यक्षले आफूले पहिले पनि नक्कली प्लास्टिकको चामलबारे सुनेको र रेष्टुरेण्टमा खाएको खानामा पनि प्लास्टिकको चामल मिसाइएको प्रहरी टोलीलाई बताए । इन्सपेक्टर राईले वडाअध्यक्ष मगरले खाँदाखाँदै छोडेको थालको भात नियाले ।

‘भात सामान्यभन्दा अलिक फरक देखिन्थ्यो, तर प्लास्टिककै चामलको भात हो भन्ने चै लागेन,’ इन्सपेक्टर राईले अनलाइनखबरसँग भने । रेष्टुरेन्टका कामदारले भने उक्त भात लनग्रेन ब्राण्डको चामलको भएको इन्सपेक्टर राईलाई जानकारी दिए । राईले यस विषयमा अनुसन्धान गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहललाई घटनाबारे जानकारी गराए । विभागको टोली घटनास्थल पुग्यो । विभागका अधिकारीले थालमा रहेको भात हेरे र छामे । भात स्वभाविक रुपमा अलिकिती चाम्रो थियो, तर भात प्लास्टिकको नभएको मुचुल्का लिएर विभागको टोली फर्कियो ।

प्लास्टिकको चामल भेटिएको दुई दर्जन उजुरी

प्लास्टिकको चामलबारे सोमबारको उजुरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका लागि नौलो भने थिएन । विभागका प्रवक्ता मोहन कृष्ण मर्हजनका अनुसार विभागमा एक वर्षको अवधिमा प्लाष्टिकको चामल खुवाइएको भन्दै २५ भन्दा धेरै उजुरी देशभरीबाट प्राप्त भएको छ । विभागको क्षेत्रीय तथा प्रदेश कार्यालयहरु विराटनगर, इनरुवा लगायतमा पनि यस्ता उजुरी परेका छन् । भात चाम्रो भएको अवस्थामा चामलमा प्लास्टिकको नक्कली चामल मिसाइएको भन्दै धेरै उजुरी परेको प्रवक्ता मर्हजन बताउँछन् ।

प्लास्टिकको चामल हुन्छ ?

केही समयदेखि सामाजिक सञ्जालमा प्लास्टिकको चामल भन्दै थरीथरी फोटो तथा भिडियो भाइरल भइरहेका छन् । त्यसको आधिकारिकता भने कतै पनि पुष्टि भएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार कसैले खेलौनाका लागि बनाएको अवस्थामा बाहेक संसारभर प्लास्टिकको चामल बनाइएको कुनै वैज्ञानिक प्रमाण छैन । प्लास्टिकलाई चामल जस्तो देखिने बनाउन लाग्ने खर्चभन्दा धानको चामल उत्पादन गर्नु कयौं गुणा सस्तो पर्ने भएकाले कसैले यस्तो मुर्खता गर्नै नसक्ने विभागका प्रवक्ता एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत महर्जन बताउँछन् । देशभरबाट आएको सबै उजुरीमा विभागले गरेको ल्याव परिक्षणमा पनि प्लास्टिकको चामल भएको कुनै आधार नभेटिएको उनले जानकारी दिए । ‘कुनै(कुनै चामलको उत्पादन तथा भण्डारण प्रक्रियामा भएको कमजोरीका कारण चामल बिग्रन सक्छ र पकाइएको खाना अस्वभाविक देखिन सक्छ, त्यो प्लाष्टिकको चामल होइन,’ उनले भने ।

चामल, अण्डा र पिठो प्लाष्टिकको हुँदैन

देशैभरबाट उजुरी र गुनासोहरु आउन थालेपछि बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक सूचना नै जारी गरेर चामल, अण्डा र पिठो प्लाष्टिकको नहुने स्पष्ट पारेको छ । विभागले अहिलेसम्म गरेको परीक्षणमा यस्तो कुनै प्रकारको प्रमाण नभेटिएको हुनेले यो सबै तथ्यविहीन भ्रम भएको जनाएको छ । केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्लाष्टिकको चामल, अण्डा र पिठो भेटिएको भन्दै प्रकाशित समाचार तथा प्रचार तथ्यहिन भएको भन्दै विभागले हल्लाको पछि नलाग्न सर्वसाधरण उपभोक्तालाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर