Aamsanchar

पेन्सिलको भरमै चकित पार्ने अनिशका चित्र

Author Image
आइतवार, असोज ५, २०७६

महोत्तारी : उमेरले १६ वर्ष पुगे अनिश जसवाल।। तर, उनले बनाएको चित्र हेर्ने हो भने सबै अचम्मित हुन्छन्। भर्खरै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र हुबहु बनाएका छन्। उनले चित्र कोर्न कुनै तालिम लिएका छैनन्। निरन्तरको साधनाले उनी हरेक मानिसको चित्र जस्ताको त्यस्तै कोर्ने गर्छन्।

महोत्तारीको बर्दिबास नगरपालिका–१ का अनिश कक्षा १० मा पढ्दै छन्। जनता माध्यमिक विद्यालय गौरीडाँडामा अध्ययनरत उनी कक्षामा दोस्रो हुने विद्यार्थी हुन्। गणित र विज्ञानमा उनी अरू विषयभन्दा तेजिला छन्। उनको परिवारको आर्थिक अवस्था कमजोर छ। आमाबुवा बर्दिबास चोकमा ठेलागाडामा फलफूल बिक्री गर्छन्। यसैबाट छोरोको पढाइखर्च जुटाउँछन्।

डेढ वर्षअघिको कुरा हो। स्कुल पढेर दिनहुँजस्तै घर फर्किए अनिश। किताबको झोला थन्क्याए। उनलाई के गरूँ गरूँ लाग्न थाल्यो। घरमा राखिएको मोबाइल खेलाउन थाले। त्यहाँ ६५ वर्षीया हजुरआमाको ब्ल्याक एन्ड ह्वाइट फोटो देखे।

ख्यालख्यालमै उनले त्यो तस्बिर हेर्दै कपीमा पेन्सिलले कोर्न थाले। चित्र तयार गरेर आमा उर्मिलादेवीलाई देखाए। ‘मैले बनाएको चित्र तस्बिरसँग हुबहु मिल्यो भनेर ममीले भन्नुभयो। म हौसिएँ’, अनिशले भने, ‘छिमेकी आन्टीलाई पनि देखाएँ। उहाँले गज्जब मिल्यो भनेर मलाई भन्नुभयो। अनि म अरू मानिसको चित्र कोर्न थालेँ।’ मानिसको तस्बिर दुरुस्तै बनाउन थालेपछि विद्यालय र गाउँमा उनी एक अब्बल कलाकार हुन् भन्ने परिचय बनेको छ।

धेरै साथीभाइ र गाउँलेले उनलाई आफ्नो मुहार चित्र बनाइदिन आग्रह गरेका छन्। नभ्याएर उनले सबैको बनाउन सकेका छैनन्। उनले भने, ‘मैले जसको चित्र बनाइदिएँ, उहाँहरूले फेसबुकमा हाल्नुभयो, त्यसपछि मलाई धेरैले चिन्न थालेका छन्।’

उनको स्कुलमा एक हजार दुई सय विद्यार्थी छन्। अनिशले सबैलाई नचिने पनि उनलाई सबैले चित्रकार अनिश भनेर सहजै चिन्छन्। अनिशले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको मुहारचित्र बनाएर विद्यालयको वार्षिक उत्सवमा उनलाई उपहारस्वरूप प्रदान गरिसकेका छन्। पोखरेल अनिशकै निर्वाचन क्षेत्रबाट विजयी भएका हुन्। उनले बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीको तस्बिर पनि बनाएका छन्। विद्यालयले उनलाई प्रतिभाशाली चित्रकार भनेर सम्मान प्रदान गरेको छ।

बलिउडका नायक साहरुख खान, वरुण धवन, अमेरिकी गायक उइज खालिफा, जस्टिन वेवरको चित्र पनि उनले बनाइसकेका छन्। प्रसिद्ध मानिसको तस्बिर कोरेर प्रदर्शनी गर्ने उनको सपना छ। र्‍याप गीत गाउनमा पनि रुचि राख्ने अनिशको भविष्यमा सिभिल इन्जिनियर बन्ने लक्ष्य छ।

अनिश र्‍याप गीत पनि लेख्छन्। त्यसलाई गाएर युट्युबमा अपलोड गर्छन्। उनको युट्युबको सस्क्राइभर धेरै पुगिसकेको छ। ‘एउटा र्‍याप गीत दुई लाखले हरेका छन्’, उनले भने। अनिशको जन्म सर्लाहीको सिसौटिया गाउँमा भएको हो। उनका बुवा रामबाबु सिक्किममा कवाडी सरसामान खरिदबिक्री गरेर परिवार पाल्थे। पछि उनकी आमा उर्मिला अनिशसँगै सिक्किममा बस्न थालिन्। उनले त्यहीँ कक्षा ७ सम्म पढे। त्यसपछि उनको परिवार काठमाडौंमा सर्‍यो। त्यहाँ उनका बुवाले मैनबत्ताी उद्योग खोले।

‘काठमाडौं लोडसेडिङमुत्ताm भयो, मैनबत्ताीले खासै बजार पाएन’, अनिशकी आमाले भनिन्, ‘त्यसपछि बर्दिबासमा आयौं। छोरालाई जनता मावि गौरीडाँडामा भर्ना गरिदियौं।’ सर्लाहीको जग्गा बिक्री गरेर बर्दिबासमै घर बनाएको बताउँदै उनले भनिन्, ‘घर बनाउँदा १० लाख रुपैयाँ ऋण लाग्यो।’

अनिशले चित्र बनाउन थालेसँगै उनको सामाजिक गतिविधिमा पनि सक्रियता बढेको छ। उनी नगर बालक्लबको कोषाध्यक्ष तथा बर्दिबास वडा नम्बर १ को चौतारी बालक्लबको पनि अध्यक्ष छन्। ‘भर्खरै लागूऔषध दुव्र्यसनीविरुद्ध सडकनाटक गर्‍यौं’, उनले भने, ‘स्कुल भर्ना अभियानका बेलामा बालबालिकाको नाम लेखायौं। बालबालिकालाई स्कुल पठाउन घरघरमा गएर अभिभावकलाई सम्झाइबुझाइ गर्‍यौं।’

पढेरै असल मानिस बन्न सकिने उनको बुझाइ छ। ‘संसारमा केही नौला काम गरेरै मानिस विश्वविजेता बनेका छन्। त्यसैले पढेर केही नयाँ काम गर्नुस्’, उनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर