Aamsanchar

वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको तथ्याङ्क सार्वजनिक

Author Image
मङ्गलवार, भदौ ३१, २०७६

काँकरभिट्टा, ३१ भदौ । वितेको ५० वर्षमा डेंगु रोगको संक्रमण ३० गुणाले बढेको एक तथ्याङ्कले देखाएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या यो रोगको जोखिममा रहेको तथा १ सय २८ भन्दा बढी मुलुकका ३ दशमलव ९ अर्व मानिसहरु यस रोगको जोखिम क्षेत्रमा बसोबास गर्दछन् ।

मंगलबार झापाको मेचीनगर नगरपालिकाले आयोजना गरेको डेंगु रोग नियन्त्रण सम्बन्धि नगरपालिका स्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका डेंगु रोगका फोकल पर्सन तथा भेक्टर कन्ट्रोल अधिकृत जीवन चौलागाईँले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनका साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको तथा समयमै उपचार व्यवस्थापन गर्न सकिएमा मृत्युदरलाई २ प्रतिशत भन्दा कममा झार्न सकिने चौलागाईँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा डेंगु सन् २००४ मा पहिलो विरामी (विदेशी) भेटिएको तथा सन् २००६ मा तराई र भित्रीमधेशका केहि जिल्लामा डेंगुका विरामीहरु फेला परेको उनले प्रस्तुत गरेको प्रतिवेदनमा जनाइएको छ ।

सहरको रोग पनि भनिने डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । पाँच सयभन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्यधिक संख्यामा रहेका गाडीका ग्यारेजहरु रहेको शहर काँकरभिट्टामा त्यसबेला डेंगु संक्रमणले प्रकोपकै रुप लिएको थियो ।

सन २०१० मा चितवन लगायत रुपन्देही, नवलपरासीआदि जिल्लाहरुमा महामारीको रुपमा फैलिएको डेंगुका संक्रमित त्यस वर्ष देश भरीमा ९ सय १७ फेला परेका थिए । सन २०१६ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा १ हजार ५ सय २७ केशहरु देखिएको थियो ।

सन २०१७ मा चितवन, झापा र रुपन्देही जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा २ हजार १ सय ११ तथा सन २०१८ मा कास्की रुपन्देही र चितवन जिल्लामा महामारीको रुपमा फैलिएको र देश भरमा जम्मा ८ सय ११ केशहरु देखिएको उनले जानकारी दिए । सन २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन, कास्की र मकवानपुर जिल्लाहरुमा महामारीको रुपमा फैलिएको थियो डेंगु । सुनसरीमा मात्र ३ हजार २ सय ६६ विरामी पाइएका थिए । सन २०१९ को हाल वा भाद्र ११ गते सम्म ४ हजार ९ सय ६२ डेंगु विरामी भेटिएको उनले बताए ।

यसको नियन्त्रणका लागि सरकारले लामखुट्टेको वासस्थान खोजि गरी लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम, डेंगु रोग नियन्त्रण र रोकथामका सम्बन्धमा स्वाथ्यकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयमसेविका, सरोकारवालाहरुलाई अभिमुखिकरण,डेंगु रोग नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सामाग्रीहरुको उत्पादन तथा वितरण, स्वास्थ्य सिक्षा तथा सुचना केन्द्र वाट डेंगु रोग नियन्त्रण र रोकथाम सम्बन्धि स्वास्थ्य सुचना प्रशारण गरेपनि विगत केहि दशक देखि विश्व भरी नै डेंगु रोगको संक्रमण अत्यधिक रुपमा बढ्दै गएको उनले जानकारी गराएका थिए ।

डेंगुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने हुँदा यस्तो लक्षण देखा परे स्वास्थ्य केन्द्र जान समेत उनले सल्लाह दिएका थिए । संक्रमितले चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि लिने, प्रशस्त आराम गर्ने, झोल खानेकुरा खाने गर्नुपर्ने उनको सुझाव छ । पोथी लामखुट्टेले पार्ने अण्डा, त्यसबाट विकसित हुने लार्भा र लामखुट्टे चाहिँ जन्मिँदै संक्रमित भएर जन्मिने स्वास्थ्यकर्मीहरुको भनाई छ । यो लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । गाउँमा भन्दा शहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको छ ।

डेंगुको भाइरस संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्ने भएकाले लामखुट्टेले पार्ने अण्डा, त्यसबाट विकसित हुने लार्भा खोजेर नष्ट गर्नु नै यसको रोकथामको प्रमुख उपाय भएको कार्यक्रममा बताइएको छ । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्व, नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईले नगरपालिकाक्षेत्रमा डेंगुको अवस्था तथा यसको नियन्त्रणमा भए गरेका कामको प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । उनले मेचीनगरमा संक्रमण दर बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखासहित स्वास्थ्यकर्मीहरुको सम्पूर्ण शक्ति परिचालन गरेको, डेंगु संक्रमित फेला परे लगत्तै नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई शाखाले तीव्र पारेको, चेतनामुलक पर्चा पम्प्लेट वितरण माइकिङ् तथा रेडियो टेलिभिजनमार्फत चेतनामुलक सूचना प्रशारण गरिरहेको बताइन् ।

स्वास्थ्यकर्मी समेत रहेकी संयोजक राईले एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायरलगायतमा पाँच दिनभन्दा बढी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ । त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने बट्टाहरु, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरुमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्छ । त्यसैले जथाभावी फोहर हुने तथा पानी जम्ने भाँडा तथा यन्त्रहरु बढी प्रयोग हुने सहरी क्षेत्रमा डेंगु छिटो र बर्सेनि फैलिने गरेको हो । यस्ता वस्तुको व्यवस्थापनमा उचित ध्यान दिनुपर्ने बताईएको छ । शहरमा बसोबास गर्ने सर्वसाधारणले आफ्नै घर परिसरमा मात्रै पनि सरसफाईमा ध्यान दिने हो भने रोग संक्रमणको जोखिम आधा नै कम हने संयोजक राईको भनाई छ ।

प्रमुख अतिथि नगर प्रमुख आचार्यले नगरमा डेंगु संक्रमित बढेपछि प्रत्येक वडाका जनप्रतिनिधिहरुलाई आ आफ्नो वडाको पछिल्लोे अवस्थाका बारेमा जानकारी गराउन पत्रचार गरेको बताए । उनले नगरपालिकाले नगरमा डेंगु संक्रमण हुन नदिन सवैलाई आ आफ्नो स्थानबट सहयोग गर्न आग्रह गरेका थिए । आफूलाई पर्याप्त जानकारी भए पनि पूर्व सतर्कता अपनाउन नचाहने सर्वसाधारणको बानीले डेंगु संक्रमणलाई तीव्र रुपमा फैलाउन मद्दत गरिरहेको छ । सर्वसाधारणले थोरै मात्रै सतर्कता देखाउँदा मात्रै पनि डेंगु संक्रमणबाट बँच्न सकिने उहाँको भनाई छ ।

आफ्ना घरवरिपरी लामखुट्टे मार्ने औषधि छरे, शरीर पूरै ढाक्ने कपडा लगाए, झुल लगाएर सुत्ने गरे, लामखुट्टे भगाउने धुप प्रयोग गरे, सरसफाईमा विशेष ध्यान दिएर पानी जम्मा गर्ने भाडाकुडामा कम्तिमा हप्तामा एकपटक सफा गरे, घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुरे डेंगुबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

स्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाले आफ्नो विचार राखेका थिए । ६ नम्बर वडाका वडाध्यक्ष ललितबहादुर तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सहसंयोजक रामनारायण यादवले गरेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, राजनीतिक दलका नेता कार्यकर्ता, महिला स्वय्म सेविकसहित सर्वसाधारणको उल्लेखिय सहभागिता थियो । सहभागीहरुले विज्ञहरुसँगद अन्तरक्रिया समेत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर