Aamsanchar

शालिकराम पुडासैनी मृत्युप्रकरण : आत्महत्या कि हत्या ?

Author Image
शुक्रवार, भदौ ६, २०७६

गत साउन २० गते राति चितवनको नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका थिए । नुवाकोटका शालिकराम शाहसी पत्रकारको रुपमा परिचित थिए । खोज पत्रकारमा अब्बल रहेका शालिकरामले धेरै अनियमितता गर्नेहरुको पर्दाफास गरेका थिए । न्यूज २४ को सिधाकुरा जनतासँग कार्यक्रममा धेरै रिर्पोट प्रशारण गर्ने शालिकरामले विभिन्न जिल्लामा पुगेर विभिन्न विषयका अनियमितताहरुलाई क्यामेरामा कैद गर्दै जनतालाई जस्ताको त्यस्तै देखाएका थिए ।

न्यूज २४ मा काम गरिरहेका उनी केही महिनाअघि मात्रै माउन्टेन टेलिभिजनमा गएका थिए । उनले आत्महत्या गरेपछि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, प्रहरी माथि नै शंका गर्ने आधारहरु प्रशस्त रहेका छन् । अहिले प्रहरीले आत्महत्या गरेको भनेर एकपक्ष रुपमा मात्रै अनुसन्धानलाई अघि बढाएको छ । जब कि आत्महत्या हो या हत्या हो भन्ने रिर्पोट नै नआई प्रहरीले आत्महत्याको विषयमा मात्रै जोड दिनुले जबर्जस्त रुपमा घटनालाई आत्महत्या प्रमाणित गरेर त्यसमा दुरुत्साहन गरेको भन्दै न्यूज २४ का चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई जेल हाल्ने दाउमा प्रहरी लागेको सहजै अनुमान गर्न सकिन्छ ।

आत्महत्या होइन हत्या हो भन्ने आशंका गर्ने प्रशस्त आधारहरु रहेका छन्–
– शालिकराम पुडासैनीको खुट्टामा चोट कसरी लाग्यो ?
– भिडियो (इडिटिङ) अर्थात् सम्पादन गरिएको मात्रै किन बाहिर आयो ? प्रहरीसँग भएको भिडियो कसरी एक जना पत्रकारको हातमा पुग्यो ?
– झ्याल खुल्ला हुनुका साथै उक्त झ्यालबाट सहजै मानिस आवतजावत गर्नसक्नु ।
– पूरा र सम्पादन नगरिएको भिडियो खोई ?
– होटलका मालिकलाई किन अनुसन्धान भएन ?
– होटलको सीसी क्यामेरा कता गयो अनि प्रहरी र होटलका सञ्चालकको कुरा किन मिलेन ?
– भिडियोमा स्क्रीप्ट पढे जस्तो देखिएको छ । अन्याय गरेको ब्यक्तिविरुद्ध भावुक होइन आक्रोशित हुन्छ मान्छे तर भिडियोमा भावुक भएको देखिएको छ ।

यस्ता प्रश्न गर्ने प्रशस्त आधारहरु रहेका छन् । रवीलाई फसाउने र पुडासैनीको मृत्यु प्रकरण अन्तर्गत न्याय ओझेलमा पारिँदैछ । यसरी घटनालाई अर्कोतर्फ लगेर कतै पीडित परिवारलाई न्यायबाट त वञ्चित गरिँदै छैन ? भन्ने आशंका पनि बाहिर आएको छ । पुडासैनीको न्यायका लागि किन आवाज कमजोर बन्दैछ ? विधिको शासन सबैले मान्नुपर्छ । तर, कसैले अभियोग लगायो भन्दैमा हतार–हतार उसलाई पक्राउ गरेर बदनाम गर्ने खेलमा प्रहरी किन लाग्यो ? यो के रवीलाई दोष देखाएर वा जबर्जस्त रुपमा हत्याका लागि दुरुत्साहन गरेको भन्दै उनलाई जेलमा हालेर आफ्नो कर्तुत लुकाउने खेलमा त प्रहरी छैन ? अहिले सवत्र चासोको विषय बन्दै गएको छ ।

प्रहरीले हत्या या आत्महत्या छुट्याएपछि मात्रै यदि रवीको संलग्नता देखिएको भए उनलाई अनुसन्धान गर्न सक्थ्यो । तर, एउटा मिडिया हाउसमा प्रहरीले देखाएको गुण्डागर्दी शैलीले अझै पनि नेपालमा गणतन्त्र आएको छैन भन्ने आभाष गर्न केही बेर सोच्नै पर्दैन । कुनै पनि मिडिया हाउसमा छिर्नुअघि त्यसका कानूनी प्रक्रिया हुन्छ । त्यसमा पनि मिडियाको सबैभन्दा संवेदनशील क्षेत्र समाचार कक्षमा प्रहरी छिर्नुले पनि प्रहरीको हर्कत कतिसम्म हुन्छ भन्ने प्रष्ट छ ।

अहिले देशभर दुईवटा समूहबीच कुरा बाझिएको छ । केहीले रवीको समर्थनमा साथ दिएका छन् भने केहीले रवीलाई दोषी देखाउँदै कानून अनुसार कारवाहीको माग गरिरहेका छन् । हो रवी दोषी देखिएमा उनलाई कारवाही हुने कुरामा उनका समर्थकले कुनै विमती राखेका छैनन् । तर, कुरा हो रवीलाई फसाउन सरकारी तवरबाटै रचित घटना त होइन भन्ने आशंका गर्ने आधारहरु पनि बलियो बन्दै गइरहेकाले गाउँ–गाँउ, बस्ती–बस्तीमा उनको समर्थनमा प्रदर्शनहरु भइरहेका छन् । जुन प्रदर्शन राजनीतिभन्दा माथि छ ।

यस्तो अवस्थामा देशभरका सबै अनुसन्धानकर्ताले तत्काल शालिकरामको घटनालाई टुंगोमा पु¥याउन जरुरी छ । नत्र सरकार यही कारण अप्ठ्यारोमा पर्ने सम्भावना पनि बढ्ने छ । जनताको भरोसा बनेका रवीको समर्थनमा निस्किएको यो जनलहर कुनै आवेग, उत्तेजना र पैसाको भरमा नभएर जनताको निरासाबीचको भरोसा बनेका रवी प्रतिको सम्मान हो । उनले सिधाकुरा जनता मार्फत जनतका आवाजहरुलाई सम्बोधन गर्ने गरेका छन् । उनले विदेशमा अलपत्र परेकी चेली मात्र नभएर विदेशमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनी अप्ठ्यारोमा पर्दा दूतावास मार्फत प्रत्यक्ष कार्यक्रमबाटै सरकारको जवाफ माग्ने गरेका थिए ।

दुई रुपैयाँ घुस लिन पनि पछि नपर्ने घुसखोरी कर्मचारीहरुको रवी भने पछि सातो जाने गरेको थियो । धेरै भ्रष्टाचारीहरु रवीको माध्यमबाटै कानूनी कठघरामा पुगेका थिए भने धेरै अपराधीहरुले जेलको हावा खाइरहेका छन् । रवी जस्तै निडर रहेका शालिकरामलाई योजनाबद्ध रुपमा हत्या गरेर एउटा गोलीले दुई सिकार गर्न त खोजीको होइन भन्ने आशंका बढ्दै गएको छ । दक्षिण एसियामा अनुसन्धानमा आफूलाई अब्बल रहेको दाबी गर्ने प्रहरीले यस्ता घटनामा निर्दोष ब्यक्तिलाई दुःख दिनुले पनि देशभरका प्रहरीप्रतिको जनविश्वास घट्दै गएको छ । प्रहरी प्रतिको जनविश्वास घट्नु भनेको राज्यको शान्ति–सुरक्षा कमजोर हुनु हो ।

चितवन अदातलमा बिचाराधीन विषयमा बोल्दा अदातलको मानहानी भयो भनेर कुर्लिनेहरु पनि निस्कन सक्छन् । तर, यो पंक्तिकारले कसैलाई दोष दिन खोजेको होइन । न्यायालयमा रहेका न्यायमुर्तीहरुले घटनाको मुचुल्का, त्यसबखत उनका आफ्न्तले दिएका अभिब्यक्ति, घटना स्थलको प्रकृति, उनको म्यासेज, भिडियो तथा सबै विषयमा गहिरो अध्ययन र अनुसन्धान गरेर मात्रै निर्णय गर्नेमा विश्वस्त रहेको छु । न्यायलयले भिडलाई हेरेर होइन आवश्यक प्रमाणका आधारमा निर्णय गर्ने हो । तर, कतै आवश्यक प्रमाणहरु त नष्ट गरेर न्यायालयको आँखा बन्द गर्ने प्रयास त हुने होइन ?

यस विषयमा सजग हुन जरुरी छ । देशका एक होनाहार पत्रकारको इहलिला सकिएको छ भने अर्का देशकै सबैभन्दा उच्च स्थानमा रहेका पत्रकारका गहना रवीलाई दुःख दिएर पत्रकारिता माथिको दादागिरी चलाउने खेलमा कसैले पनि हिम्मत नगरे हुन्छ । सत्य एक न एकदिन बाहिर अवश्य आउने छ । धैर्य गर्न भने छाड्नु हुन्न, खबरदारी गर्दै छिटो न्याय निरुपणका लागि जनता उठ्न जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर