Aamsanchar

साउनलाई शिव भगवानको महिना यसकारण मानिएको रहेछ

Author Image
बुधवार, साउन १, २०७६

असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् । यो भगवान शिवको महिना हो, यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउने भनि शिवको आराधना गर्ने चलन पनि रहि आएको छ ।

श्रावण महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदि लिएर हिँडेका भगवान शिव आँफै जल हुनुभएको उल्लेख गरिएको छ ।

यसै हिसाबले पनि यस महिना शिवलिङ्गमा जल चढाउन पहेंलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बागद्वार, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिरहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरुको भीड लाग्ने गर्दछ ।

तरार्इमा यो महिनाभरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउञ्जेल खुट्टामा चप्पल समेत नलगार्इ, चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्राकोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँटघाट धाम लगायतको बिभिन्न शिवालयहरुमा काँवरहरूको ठूलो घूँइचो रहने गर्दछ ।

श्रावण संक्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु(स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।

यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

श्रावणसम्ममा बारीका मकैहरु पनि ठूलै घोघा भइसकेका हुन्छन्, श्रावणको झरिमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाँउघरका हिलो गोरेटोमा प्याट् प्याट् चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिडेको वाल्यकालका यादहरु पनि श्रावण महिनाको एउटा सम्पत्ति हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर