Aamsanchar

सेवा पाउने आशामा सास्ती झेल्दै बिर्तामोडबासी

Author Image
आइतवार, जेठ १२, २०७६

बिर्तामोड ।

पछिल्लो समय झापामा विकास निर्माणका कामले तीव्रता पाएको छ । खासगरी स्थानीय तहले सडक सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएका छन् ।

हरेक स्थानीय तहले प्राथमिकतामा सडक मर्मतलाई राखेपछि जिल्लाका अधिकांश सडकको अहिले धमाधम स्तरोन्नतिसंगै ग्राभेल र कालोपत्रे गर्ने काम भइरहेको छ । १५ वटै स्थानीय तहमध्ये केहीले सडक निर्माणसंगै ढल व्यवस्थापनका लागि नाला निर्माण गर्दाे जताततैका सडक आधा मात्रै निर्माण भएका छन् । जसका कारण सेवाग्राहीले सेवा पाउने आशामा सास्ती झेल्नुपरेको छ ।

बिर्तामोडका अघिकांश सडक अहिले स्तरोन्नतिको चरणमा छन् । सडकसँगै ढलको समेत काम अघि बढाएकाले नगरका सवैजसो सडक अवरुद्ध छन् । जसका कारण अत्यावश्यकीय सेवा एम्वुलेन्स, दमकल सञ्चालनमा समेत समस्या हुने गरेको छ । सदरमुकाम जोड्ने बिर्तामोड–चन्द्रगढी सडकखण्ड पनि धमाधम निर्माण भइरहेको छ । सडक निर्माणको काम कछुवाको गतिमा हुँदा सो सडकखण्ड आसपासका मात्र होइन सो सडकखण्ड भएर हिँड्ने सबैले सास्ती झेल्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

सडक डिभिजन कार्यालय झापाले चार किलोमिटर बाटो निर्माणका लागि ठेक्का लगाएको छ । ठेक्का लगाएको पनि वर्ष दिन बित्न लाग्यो । २०७५ असार २४ गते सडक निमाणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल असोज २३ गते सडक निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । आशिष–प्रेरा जेभीले सडक निर्माणको ठेक्का लिए पनि पेटी कन्ट्याक्टमा राजकिशोर गुप्ताले काम गरिरहेका छन् । सडक निर्माण सम्वन्धी कुनै जिज्ञासा राख्दा उनी बोल्न चाहँदैनन् ।

यता डिभिजन सडक कार्यालय दमकका प्रमुख राजेश यादवसँग सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्दै आएको अफिसियल नम्वर ९८५२६७६४९८मा सम्पर्क हुन सकेन । उनले सो नम्वरभन्दा आफ्नो व्यक्तिगत नम्वर बढी चलाउने भएकाले कार्यालयको नम्वर सँधै ‘स्वीचअफ’ गर्ने गरेका छन् । भद्रपुरसम्म चार लेनको सडक निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएपछि अहिले डिभिजन कार्यालय दमकले सो सडकखण्डको डीपीआर तयार गरिरहे पनि निर्माणाधीन सडकखण्डको भने बेहाल नै भएको सरोकारबालाको भनाइ छ ।

स्थानीय व्यापारीका अनुसार सडकको किनारमा बनाइएका नाला घरबाट आउने पानीको निकासका लागि उपयुक्त छैनन् । घरबाट सोझै नालामा झारिने पानीको पाइप नालाको माथिल्लो भागमा हुनुपर्नेमा नालाको भाग तल भएको उनीहरुको भनाइ छ । जसका कारण घरको पानी ‘व्लक’ हुने सम्भावना बढेर गएको उनीहरु बताउँछन् ।

बिर्तामोड–चन्द्रगढी सडक खण्ड निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिभिजन कार्यालय दमकमार्फत २७ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । ४.०७ लम्वाइ र १६.२ मिटर चौडाइ रहेको बिर्तामोड–चन्द्रगढी सडकखण्ड जस्तै जिल्लाका निर्माणाधीन अधिकांश सडकको अवस्था उस्तै छन् । कतिपय निर्माणाधीन सडक खण्डमा वैकल्पिक सडकको व्यवस्था नगरी बाटो निर्माणको काम शुरु गर्ने र समयमा काम सम्पन्न नगरिँदा स्थानीयले विकासका नाममा सास्ती झेल्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर