Aamsanchar

प्रदेश १ मा २०५ थान बन्दुक संकलन, झापामा कसैले हतियार बुझाएनन्

Author Image
मङ्गलवार, वैशाख १०, २०७६

बिर्तामोड, वैशाख ९। सरकारले आफूसँग रहेको अवैध हतियार बुझाउन ३५ दिनको समय दिए पनि झापामा कसैले हतियार नबुझाएको बताइएको छ । गृहमन्त्रालयले बैशाख ५ गते राति १२ बजेसम्ममा आफूसँग भएको हतियार बुझाउन नागरिकलाई आह्वान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरे पनि कसैले हतियार नबुझाएको प्रहरी प्रवक्ता डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । खुल्ला सीमा भएकाले झापामा अवैध हतियार ओसारपसार हुन सक्ने भए पनि हतियार बुझाउन दिएको समयमा कसैले हतियार नबुझाएको डीएसपी श्रेष्ठले बताए ।

उनले कसैसँग हतियार फेला परे कानून अनुसार कारबाही गर्ने चेतावनी दिए । यसैबीच प्रदेश १मा प्रहरीले विभिन्न जिल्लाबाट दुई सय ५ थान हतियार संकलन गरेको छ । गृह मन्त्रालयले गत चैत १ गते ३५ दिनभित्र हतियार बुझाउन गरेको सूचनापछि बैशाख ८ गतेसम्ममा सो हतियार संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

संकलित हतियारमध्ये ९५ थान बैध र ३५ थान नवीकरण तथा दर्ता नभएको जनाइएको छ । सर्वसाधारण आफैंले प्रहरीलाई हतियार बुझाएका थिए । संकलन भएको हतियारमध्ये सबैभन्दा बढी एक सय ६७ नाल भरुवा बन्दुक रहेको छ । उता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ३५ दिनमा एक सय २५ थान बन्दुक संकलन गरेको छ । यो १ नम्वर प्रदेशका जिल्लाहरुमा संकलित सबैभन्दा बढी हतियार हो ।

प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १० नाल व्यारेलसहित अवैध हतियार ८५ नाल संकलन गरिएको छ । इजाजत लिएर राखेका ४० नाल र १२ बोरको ५ राउण्ड गोली पनि प्रहेरीले संकलन गरेको छ । खोजीकै क्रममा ३ राउण्ड गोलीसहित १ थान रिभलवर भेटाएको प्रहरीले जनाएको छ । हतियार संकलनका लागि सबै सुरक्षा निकाय सक्रिय भएको र गाउँका प्रहरीलाई विशेष परिचालन गरिएको थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर